सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिने

44

काठमाडौँ, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले बताउनुभयो । शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएको हो ।

केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको थियो । केन्द्रमा माओवादी–एमाले गठबन्धन बनेपनि सुदुरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ ।

मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहनुभएको छ ।

प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ । तर, नागरिक उन्मुक्तिभित्रको विवादका कारण उहाँले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...