काठमाडौँ, १४ चैत । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा (एमाले)ले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम फाइनल गरेपछि गठबन्धनभित्र असन्तुष्टि पनि बढेको छ ।
नेकपा (माओवादी केन्द्र)ले बुधबार बिहान मात्रै इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दलहरुले साझा उम्मेदवार उठाउने सम्भावना न्यून बन्दै गएको हो ।
बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय माओवादी केन्द्रले गरेको हो । ‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौँ, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो ।
उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवारी दिने बताइसकेको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जितबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभयो ।
त्यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो अलग्गै उम्मेदवारी दिने लगभग अन्तिम तयारी गरिरहेको छ । इलाम–२ को वस्तुस्थिति बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई लामो समयदेखि खटाएको छ। पाँचदलीय गठबन्धनमा सामेल भए पनि आफूलाई अन्य दलहरुभन्दा फरक र रचनात्मक दाबी गर्दै आएको रास्वपाले आफ्नै उम्मेदवार अघि बढाउनेगरी अन्तिम तयारी गरिरहेको छ ।
छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ । तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ । तनहुँकै जस्तो नतिजा निकाल्न नसकेपनि रास्वपा पूर्वी पहाडमा आफ्नो संगठनको उपस्थितिती बढाउन खोजिरहेको छ ।
उपनिर्वाचनका सवालमा एमाले आफ्नै तरिकाले अघि बढेपछि सत्ता साझेदार दलहरु बाध्य भएर नयाँ निर्णयमा पुगेका हुन् । सत्ता गठबन्धनमा एमालेसहित माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी गरी पाँच दल सामेल छन् । यीमध्ये कुनै पनि दल एमालेले अघि सारेका उम्मेदवारलाई आगामी उपनिर्वाचनमा समर्थन गर्ने मनस्थितिमा छैनन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउने बझाङमा आफ्नो उम्मेदवारलाई सघाउने वातावरण तय गर्ने मनस्थिथिमा हुनुहुन्थ्यो । सोहीअनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर, सहकार्य गरिरहेका दलहरु आफ्नै तरिकाले अघि बढेपछि उपनिर्वाचनका सवालमा सत्ता गठबन्धनभित्र मत भिन्नता देखिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय गर्न सकेको छैन । सम्भवत चैत्र १९ गते पदाधिकारीको बैठक बसेर उम्मेदवारको नाम टुंगोमा पुर्याउने तयारी कांग्रेसको छ । उपनिर्वाचनका लागि गठबन्धन दलहरु आक्रमक रुपमा अघि बढेपनि कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ ।
कांग्रेसले क्षत्र, जिल्ला र प्रदेशबाट एक नम्बरमा भेषराज आचार्यको नाम राखेर सात जनाको नाम पठाइसकेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । त्यस्तै, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाइसकेको छ ।
कांग्रेसका आकांक्षीहरु काठमाडौँमा केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।