काठमाडौँ, ११ चैत । नेकपा (एमाले)ले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो । गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि सुवासलाई यस क्षेत्रका मतदाताले जिताएर पठाएका थिए । तर, पहिलो पटक झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग सुवास विजयी हुनुभएको थियो ।
गत भदौमा सुवासको निधन भएपछि रिक्त रहेको त्यो क्षेत्रमा उनका कान्छा पुत्र सुहाङलाई उठाउने एमालेको निर्णय आजै सार्वजनिक भएको छ ।
नेपाली कांग्रेस र अरु पार्टीले उम्मेदवार घोषणा गरिसकेका छैनन् । यतिबेला एमाले र उसँग अलग भएको एकीकृत समाजवादी गठबन्धन सरकारमा साथै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच सत्ता सहकार्य चलिरहेकाले इलाम क्षेत्र नम्बर २ को वामपन्थी मत एकैठाउँ पर्ने सम्भावना देखिन्छ । अरु विपक्षवीचको सहकार्यको सम्भावना पनि टरिसकेको छैन ।
राजनीतिको व्यवहारिक ज्ञान र अनुभव सँगाल्न बाँकी नै रहेका सुहाङलाई अनुभवी पुराना नेता कार्यकर्ताको चित्त बुझाएर उनीहरुको सहयोग लिने कुरा कम चुनौतीपूर्ण देखिँदैन । उहाँलाई आफ्ना पिताको योगदान र उहाँले आर्जन गर्नुभएको लोकप्रियता पनि राजनीतिमा उभिन निकै महत्वपूर्ण आधार बन्न सक्छ । अन्तिम निर्वाचन हारेर जीवनबाट बिदा लिनुभएका सुवासले राजनीतिमा पक्ष र विपक्ष दुवैथरीको विश्वास जित्नुभएको थियो । सुहाङले पिताको यो गुणबाट पनि लाभ लिन सक्ने देखिन्छ ।
अन्तिम निर्वाचन हारेका सुवास
संविधान सभा र संसद गरी स्वर्गीय सुवास नेम्वाङले संसद्को चार कार्यकाल नेतृत्व गर्नुभएको थियो । तर, राष्ट्रपतिको निर्वाचनमा भने उहाँ सफल हुन सक्नुभएन । तत्कालको गणित एमालेको पक्षमा थिएन, एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवास राष्ट्रपतिमा जित्ने सम्भावना यसैपनि थिएन । तत्कालीन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुवासलाई पराजित गर्नुभएको थियो ।
सुवासले सभामुखको भूमिकामा २०६३ वैशाख देखि २०६३ र २०६३ माघदेखि २०६५ साल जेठसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसपछि उहाँ दुइ पटक संविधानसभाको अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो र उहाँकै नेतृत्वको दोस्रो कार्यकालको संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएर घोषणा पनि भएको थियो ।
२०४८ यता उहाँ दुई पटक राष्ट्रिय सभामा निर्वाचित हुनुभयो भने २०५६ यताका पाँचवटै चुनावमा सफल हुनुभएको थियो । सुवास नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरु भएको थियो । उहाँ २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित हुनुभएको थियो । त्यो उहाँको सक्रिय राजनीतिको पहिलो सफलता थियो तर अन्तिम निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।
उपनिर्वाचनको मैदानमा उत्रिन तयार हुनुभएका सुहाङले आफ्ना पिताको यो राजनीतिक पृष्ठभूमि कत्तिको सदुपयोग गर्न सक्नुहुन्छ भन्ने जिज्ञासा इलाम २ का मतदातालाई हुनसक्छ । सतहमा नदेखिने असहयोगको राजनीतिको व्यवस्थापन र त्यसलाई चिर्ने रणनीति निर्वाचनको अर्को महत्वपूर्ण पक्ष हो भन्ने पक्ष सुहाङका लागि व्यवहारिक राजनीतिको नयाँ अध्याय हुने छ ।