इलाम, १ चैत । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ ।
खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गर्नुभएको छ । आफू आफ्नो दलको मात्र नभइ सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको उहाँले गृहजिल्लाका सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा रहेका खनालले उम्मेदवार बन्ने निश्चित भए सबै वामपन्थी दलका तर्फबाट बन्ने बताएको इलामका सञ्चारकर्मी भीम चापागाईंले बताउनुभयो ।
आफूलाई आफ्नै दल र अरु वामपन्थी दलका नेता तथा कार्यकर्ताले उम्मेद्वार बन्न आग्रह गरिरहेको उहाँले बताउनुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो उम्मेदवारीबारे कुरा भइरहेको खनालले उल्लेख गर्नुभएको छ ।
तीन दशकयता इलाम क्षेत्र नम्बर १ बाट पटक पटक विजयी बन्दै आउनुभएका खनाल २०७९ सालको निर्वाचनमा भने पराजित हुनुभएको थियो । त्यसबेला एमालेबाट अलग्गिएका उहाँ एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६६४ मतले पराजित हुनुभएको थियो । बस्नेतले २५ हजार ७५३ पाउनुभएको थियो भने खनालले २३ हजार ८९ मत प्राप्त गर्नुभएको थियो ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी सम्मिलित गठबन्धन बनेको छ ।
गठबन्धनका दलले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्लाबेग्लै उम्मेदवार दिने भन्ने निणर्य गरिसकेका छैनन् । गठबन्धनमा आबद्ध दल रास्वपाले भने उम्मेदवारी दिने जनाइसकेको छ ।
यसैबीच, एमालेबाट इलाम–२ मा उम्मेदवार बन्न ६ आकांक्षीहरु देखिएका छन् । उनीहरुले उम्मेदवार बन्ने इच्छासहित पार्टीमा निवेदन दिइसकेका छन् ।
त्यसरी निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ (सुवा नेम्वाङका छोरा), देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धि खनाललगायत छन् ।
आकांक्षीहरुको नाम पार्टी जिल्ला कमिटीले केन्द्रमा पठाउने र चैत १५ गतेभित्र पार्टीले एकजनाको नाम टुंगो लगाउने जनाइएको छ । इलाम–२ मा २०७९ सालको निर्वाचनमा एमालेका नेता सुवासचन्द्र नेँवाङ विजयी बन्नुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभएको थियो ।
नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो ।