विराटनगर, २५ फागुन । शिक्षासेवी तथा साहित्यकार डा.नरेन्द्र चापागाईंको सम्झना एवम् सम्मानमा स्थापित नरेन्द्र चापागाईं भाषा साहित्य पुरस्कार यस वर्षका लागि समालोचक दधिराज सुवेदीलाई दिइने भएको छ ।
यसैगरी, नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार–२०८० कवि जयन्ता पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ ।
डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो ।
डा.नरेन्द्र चापागाईंका समकालीन साहित्यकार दधिराज सुवेदीले साढे पाँच दशकदेखि अनवरत रुपमा नेपाली साहित्यको सेवा गरेर साहित्यको उन्नयनका लागि योगदान दिएकामा पुरस्कृत गरिने भएको हो ।
यस्तै, नेपाली कविताको फाँटमा छुट्टै पहिचान बनाउन सफल जयन्ता पोखरेल विगत तीन दशकदेखि साहित्यको क्षेत्रमा क्रयाशील हुनुहुन्छ ।
पुरस्कारहरूका राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष टंकप्रसाद कोइरालाले बताउनुभयो ।
पुरस्कारहरू आगामी वैशाख महिनामा नरेन्द्र चापागाईं स्मृति दिवसको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने जनाइएको छ ।