बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : रेनु दाहाल

96

चितवन, १४ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् ।

प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।

महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताइन् । यस्तै, बुबाआमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् ।

प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरिन् । ‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ,’ उनले भनिन्,‘भरतपुर महानगरबाट ठुलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ ।यहाँहरु खुसी भएपनि म भने खुसी छैन ।’प्रमुख दाहालले पिटुसिटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रविद्धता व्यक्त गरिन् ।

महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रतिबालबालिका ४० हजार सहयोग गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।

भरतपुर महानगरपालिकाले यहाँका सुधारगृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरु विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताए । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधै उच्च जोखिममा जाने हिंसा शोषण र दूरव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे । उनीहरु नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस्कले जस्तो विरोध गर्न पनि नसक्ने उनको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्ष कुँवरले बताए ।

पिटुसिटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो ।

कार्यक्रममा पिटुसिटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...