प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

104

बारा, १५ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–६ स्थित मदरसा टोलका रूपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित ५ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका–६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ । उनी बाल एकता स्कुलकी पूर्वलेखापालसमेत हुन् ।

यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया–९ रामपुरका २६ वर्षीय रियाज अन्सारी पक्राउ परेका छन् । उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ । यसैगरी हत्यामा संलग्न सुटर भारत बिहार मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनवकुमार राजपूतलाई प्रहरीले सार्वजनिक गरेको छ ।

“यो हत्यमा भारतीय प्रोफेसनल सुटरहरूको प्रयोग भएको छ । यसमा गुड्डुकै स्कुलमा लेखापाल पदमा कार्यरत साथी र उनका प्रेमीको संयुक्त योजनामा यो घटना भएको देखिन्छ,” प्रहरी उपरीक्षक काफ्लेले भने, “यो घटनामा ८ जना व्यक्ति संलग्न भएको देखिन्छ । जसमध्ये अहिले हामीले राधाबाहेक ४ जना व्यक्तिलाई पक्राउ गरेका छौँ । त्यसमा सोही स्कुलमा कार्यरत शिक्षकदेखि २ भारतीयलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्था छ ।”

तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जामिल र रियाज सहयोगी र चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । घटनास्थलबाट गोलीको ४ थान खोका बरामद पनि भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

रूपेशलाई गोली हान्ने चारैजना भारतीय सुटर र राधाका प्रेमी मनोज भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरू फरार नै रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।

पक्राउ परेकी राधा गुप्ता ३ वर्षदेखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँग प्रेममा रहेकी र अहिले सर्राफसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताए । बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरू गरेपछि राधा सर्राफसँग नजिक हुन पुगेकी काफ्ले बताए ।

सर्राफसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि मनोज गुप्ताले सर्राफलाई राधासँग टाढा रहन भन्दै दुवै जनाको बीचमा पटक–पटक झगडासमेत भएको थियो । दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सर्राफ र गुप्ताबीच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए ।

अन्तमा राधा गुप्ताको परिवार र प्रेमी मनोजले बाल एकता बोर्डिङबाट ७ महिनाअघि नै राधालाई काम छोड्न लगाएको काफ्लेले बताए । स्कुलमा काम छोडे पनि राधा र रूपेशबीचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

गोली हानिएको सोमबारभन्दा दुई महिनाअघि पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेर त्यही मनोजले रूपेशलाई मार्ने प्रयास गरेको काफ्लेले जानकारी दिए । हत्या हुनबाट बचेर आएपछि पनि रूपेशले नत प्रहरीलाई नै जानकारी गराएको नत राधासँगको अनैतिक सम्बन्ध छोडेको उनले बताए ।

सर्राफको हत्या घटनाबारे प्रारम्भिक चरणको अनुसन्धान मात्रै सकिएको भन्दै काफ्लेले थप अनुसन्धानमा प्रहरी लागिरहेको बताए ।

हत्याको घटनापछि १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएकोमा तीमध्ये ५ जना मात्र हत्यामा संलग्न रहेको पुष्टि भएपछि पत्रकार सम्मेलनमा ५ जनालाई मात्र सार्वजनिक गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...