धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

45

मलेखु, ८ कात्तिक । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोकिन पुगेको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीया सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीया धनिमाया धमला घाइते भएका छन् । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीया खुसकुमारी तिमिल्सेना, ९ वर्षीया सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीया राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीया सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौँतर्फ जाँदै गरेको बा४ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।

त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए । रासस

Share This:
सम्बन्धित खबर
Loading...