राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाऔँ : प्रधानमन्त्री प्रचण्ड

58

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवम् जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने बताए ।

उनले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसामु विद्यमान् चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन आह्वान गरे ।

उनले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सद्‌भाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...