‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेतालाई ५ लाख पुरस्कार

42

काठमाडौँ, ८ असोज । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।

पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिंगर’ का लागि सेप्टेम्बर ९ देखि २२ सम्म अडिसन गरिएको थियो । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाही ‘समुदा’ अस्ट्रियाबाट जोडिएर कार्यक्रममा सहभागी भएका छन् ।

अडिसनमार्फत् उनीहरुलाई आयोजकले सुरुमा छानेपछि उत्कृष्ट ४० जनालाई छनोट गरेका थिए । उत्कृष्ट ४० जनाबाट उत्कृष्ट २०, १५, १२, १० र ५ गरी ग्रान्ड फिनाले हुने एनआरएनए आइसीसीका सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

कसरी हुन्छ उत्कृष्ट प्रतिभाको छनोट ?
एनआरएन द सिंगरको सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत् आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । ४० जनाको नाम क्रमशः टेलिभिजनबाट प्रसारण हुँदा सार्वजनिक गरिने छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराउने छन् ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि उत्कृष्ट १५ मा पुग्ने छन् । उत्कृष्ट १५ बाट अघि बढ्नेका लागि भने अनलाइन भोटको पनि आवश्यकता पर्ने छ । १५ बाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।

उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्ने छ । ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।

उपाधि जित्नले नगदरु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले ३ लाख र सेकेन्ड रनरअपले १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने उपसंयोजक प्रविण गुरुङले जानकारी दिए ।

कसरी हुन्छ प्रसारण ?
एनआरएन द सिंगरको ७ एपिसोडमा फाइनल गर्ने लक्ष्य लिइएको छ । ६ वटा एपिसोड अनलाइनमार्फत् रेकर्ड गरेर टेलिभिजनमा प्रसारण हुने छ भने फाइनल काठमाडौंमा लाइभ गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बन्धित एनसीसीहरुले फाइनलमा पुगेका ५ जनालाई नेपाल ल्याउनका लाग सहयोग गर्ने वचन दिएका छन् ।

मंगलबार (२६ सेप्टेम्बरमा) राति १० बजे प्रसारण हुने कार्यक्रममा उत्कृष्ट ४० जनाको प्रस्तुति रहने छ । एकैदिन सबै नसकिने भएकाले २७ तारिखमा उत्कृष्ट ४० कै बाँकी प्रतिभाहरुको प्रस्तुति प्रसारण हुने छ । यसैगरी २८ सेप्टेम्बरमा उत्कृष्ट २० छनोट गरेर अक्टोबर १ मा उत्कृष्ट १५को प्रस्तुति प्रसारण हुने छ ।
अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ ।

फिनाले अक्टोबर १५ मा काठमाडौँमा हुने एनआरएन द सिंगरका मुख्य संयोजकसमेत रहेका गौतमले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...