काठमाडौँ, २ भदौ । अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव सिड्नीको साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ ।
क्यानबेरास्थित नेपाली दूताबासका अनुसार बोलखेको शव भेटिएको पुष्टि प्रहरीले गरिसकेको छ । एनएसडब्लु प्रहरीले बोलखेको शव फेला परेको क्यानबेरास्थित नेपाली राजदूतावासलाई जानकारी दिएको राजदूतावासका काउन्सिलर कुलबहादुर मगरले बताउनुभएको छ ।
उनी घरमै मोबाइल र अन्य कागजात छाडेर बेपत्ता थिए । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।
दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।
१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि गएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल आएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कविहीन भएका थिए ।
२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यीनै क्षेत्रमा खोजी अघि बढाएको थियो । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख महेश खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गर्नुभएको थियो ।
उनको शव नेपाल ल्याउनका लागि परिवार, नगर प्रमुख खरेल, अष्ट्रेलियामा रहेका नेपाली समूदायले पहल गरिरहेका छन् ।
अष्ट्रेलिया सरकारको प्रक्रिया, पोष्टमार्टमलगायतका काम सकेर नेपाल ल्याउन अझै १५ दिन लाग्ने परिवारले जनाएको छ । शव ल्याउन करिब १० हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलनका लागि पहल भइरहेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।