काठमाडौँ, ६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताएका छन् ।
प्रगतिशील लेखक संघ (प्रलेस)को ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्यनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वामविचारमा लेखक संगठित भएको सन्दर्भ उल्लेख गर्दै संघले एकताका लागि पहल गर्ने ताकत राख्ने बताए ।
उनले भने, “आफ्नो उचाइ अग्लो बनाउन अरुलाई खुट्टा तान्ने प्रवृत्ति कम्युनिष्टमा देखिन्छ । यो प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन । लेखकले सशक्त रचनाका माध्यमबाट यस्ता गलत संस्कृतिको चिरफार गर्नुपर्छ ।”
उनले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गरे । कार्यक्रममा मन्त्री किरातीले २५ हजार एक सय राशिको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई प्रदान गरे । यस्तै, २० हजार एक सय राशिको प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, ११ हजार राशिको बालसाहित्य पुरस्कार प्राडा कपिल लामिछानेलाई र १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’ लाई दिइयो । सो अवसरमा प्रलेसको २८औँ विशेष अंकको विमोचन गरिएको थियो ।