११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा गोमन सर्प देखिएपछि…

105

एजेन्सी, २३ चैत । ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको छ । ब्लोमफन्टेनबाट प्रिटोरियाका लागि उडेको जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गरेका थिए ।

पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो । “इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,” रूडोल्फले बिबिसीसँग भने, “यो एकदमै डरलाग्दो क्षण थियो ।” पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो–चिसो महसुस गरेका थिए । सुरूमा उनले पानीको बोतल भनेर वास्ता गरेनन् ।

“मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो । पानीको बोतल राम्रोसँग बन्द गरेको रहेनछु र पानी पोखियो भन्ने लागेको थियो,” उनले भने, “जब मैले बाँयातिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो । उसले सिटभित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो ।” जहाजमा थप ४ जना यात्रु थिए ।

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए । यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फले विमानमा आतंक मच्चाउन नचाहेको बताए । यसबीचमा उनी निकै डराएका थिए ।

‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो । उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए ।

“सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ । त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौँ,” उनले यात्रुहरूलाई भने ।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रूडोल्फले जहाजमा पूर्ण सन्नाटा छाएको बताए । पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको भए पनि ककपिटमा रहेका सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने कुराको तालिम नदिइएको बताए ।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए । त्यहाँ काम गर्ने दुई जनाले जहाजमा सर्प देखेको बताएका थिए । नियन्त्रणमा लिन खोज्दा नसकिएको उनीहरूको भनाइ थियो ।

पाइलट रूडोल्फले जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए । “दुर्भाग्यवश त्यतिबेला सर्प फेला परेन । त्यसपछि हामी सबैले सर्प भागेको भन्ने अनुमान गर्‍यौँ,” उनले भने ।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रूडोल्फको प्रशंसा गरेका थिए । उनले पाइलटले अद्भुत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...