सुर्खेत, ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, “राष्ट्रपति कांग्रेसले उम्मेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन ।”
महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठुलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती गर्यो भन्ने विषयमा पार्टीको छलफलको विषय रहेको बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिने उनको भनाइ थियो ।