काठमाडौँ, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालाजु र गोंगबु क्षेत्रमा दुई दिनअघि भएको लुटपाटबारे संसद्मा कुरा उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“संसारका अरू देशमा देखिएको लुटपाटको दृष्य गोंगबुमा देखियो । यदि सरकार छ भने दिनदहाडै लुटपाट हुन्छ । करोडौँ लगानी गरेका व्यवसायी किन डुब्दैछन् ?,” उनले भने, “यदि यो देशमा सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो ?”
उनले गृह मन्त्रालय पनि आफैँले राख्ने हो भने सबै मन्त्रालय प्रधानमन्त्रीलाई दिए हुने बताए । “अब सबै मन्त्रालय प्रधानमन्त्रीलाई नै दिए हुन्छ,” उनले भने, “गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखिएको छ ? प्रधानमन्त्रीले नै सबै चलाउने हो भने अरूको के काम ?”
उनले देशको शान्ति सुरक्षा कायम गर्नका लागि तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे ।