काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याएका छन् । टोखा नगरपालिका–६ मा सञ्चालित एसिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि नेपालको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।
“राज्यले शैक्षिक प्रणालीमा परिवर्तन गर्न आवश्यक छ, विद्यालय र विश्वविद्यालयमा धेरै विद्यार्थी राखेर भद्रगोल बनाउनुभन्दा कम विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको शिक्षा क्षेत्रमा सुधार हुन्छ,” उनले भने । गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारीभन्दा निजी विद्यालय अब्बल रहेको उनको भनाइ थियो ।
काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद पौडेलले नेपालको शिक्षा नीतिलाई कस्तो बनाउने भन्नेबारे सरोकारवालाबीच गम्भीर बहस आवश्यक रहेको बताए। दक्षजनशक्ति उत्पादन गर्न नसक्ने विश्वविद्यालय मुलुकको लागि काम नभएको उनको भनाइ थियो । नेता पौडेलले समाजलाई नेतृत्व गर्ने हतियार र बल नभएर विचार भएको उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिन लागेको बताए ।
उनले प्राविधिक शिक्षा सुरु गर्ने टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई एक करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरे । निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई अगाडि बढाए नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।