काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद् भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् उनले राष्ट्रपति एउटा व्यक्ति मात्र नभइ संस्था भएको भन्दै राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदल्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, “राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।”
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँड्डुल गर्न नदिने अभ्यास ‘परम्परा’को नाममा चलिरहेको भन्दै उनले भनेका छन्, “यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौँ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर, यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।”
उनले यस्ता घटना नदोहोरिन दुईवटा उपाय सुझाएका छन् ।
“विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ,” उनले भनेका छन् ।
यस्तै, “निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागु हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ। र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने÷गराउने कुरामा प्रतिबद्ध रहने छु,” उनले भनेका छन् ।