बाबुराम भट्टराई भन्छन्– राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ

84

काठमाडौँ, २७ माघ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन् ।

विश्वासको मत नपाएर नेकपा (एमाले) नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्विट गर्दै यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन् ।

“आम चुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन । यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,” भट्टराईले भने ।

सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ता गरेको प्रदेशसभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे ।

सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

भट्टराईले अब हुने राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने पनि बताएका छन् । फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तोकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छन् भने सत्ता साझेदा दल एमालेले पूर्वसहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ । तर, प्रधानमन्त्रीले गत पुस २६ मा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि संसद्को ठुलो दलको हैसियतमा राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ ।

“राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ,” उनले ट्विटरमा लेखेका छन्,“अर्थतन्त्रका गम्भीर संकट छँदै छन् । भू–राजनीति अरू तात्दै छ । अब पनि द्वन्द्व कि सहमतिको बाटो ?”

Share This:
सम्बन्धित खबर
Loading...