काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन् ।
स्रोतका अनुसार सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेका छन् ।
गैरसांसदका रूपमा गृृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता बहिर्गमनपछि कुनै पनि बेला सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्रीले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रयास थालेका हुन् ।
जसपाले प्रचण्डलाई सरकार बनाउन समर्थन गरेपनि सरकार भने सहभागी छैन ।
“प्रधानमन्त्रीसँग छलफल भयो, खासै उल्लेख्य केही भएन,” भेटबारे जसपा अध्यक्ष यादवले भने, “हामी सरकार बाहिर छौँ, समर्थन गरिराखेका छौँ ।”
प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको एकीकृत समाजवादी कांग्रेससहितको गठबन्धनमा छ । तर, प्रचण्ड एकीकृत समाजवादीलाई ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले पार्ने अप्ठ्यारो साम्य पार्न चाहन्छन् ।
तीन शीर्ष नेताबीच समाजवादी मोर्चा बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । तीन नेताबीच मंगलबार बेलुका ७ बजेदेखि २ घन्टा छलफल भएको थियो ।