सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८७ हजारको विवरण संकलन

306

खाँदबारी, २४ माघ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण संकलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ८६ हजार ९६० जनाको विवरण संकलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाका प्रमुख आशा जबेगुले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण संकलन भइरहेको छ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साल साउन ३ गतेदेखि विवरण संकलन थालिएको हो ।

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का सङ्खुवासभा र झापाबाट विवरण संकलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर डाटा संकलन गरिएको थियो । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र विवरण संकलनको सङ्ख्या वृद्धि भएको छ । परिचयपत्र विवरण सङ्कलनमा व्यक्तिको नाम, थर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीका प्रमुख जबेगुले बताए ।

परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ । हालसम्म जिल्लामा २४५ जनाको राष्ट्रिय परिचयपत्र बनिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...