झापा–५ : जोगाउलान् ओलीले साख !

निर्वाचन–२०७९

32

काठमाडौँ, २५ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन् ।

२०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यसबेला अध्यक्ष ओलीलाई नेकपा (माओवादी केन्द्र)को साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यसपटक उसलाई अन्य दलको साथ छ ।

ओलीले २०७४ सालमा ५७ हजार १३९ तथा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ । झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवार परेको छ ।

उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् । उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन् । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आंकलन गरिएको छ । तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेषक बताउँछन् ।

वडागतरूपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने ४ पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर १ देखि सातसम्म एमालेले ४ वटामा जितेको थियो । कांग्रेसले २ वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

गौरीगञ्ज गाउँपालिकामा पर्ने चार वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका १० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो ।

यस्तै, एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो । स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार ६१९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादी केन्द्रले १० हजार ७९९ र राप्रपाले ८ हजार ३५९ तथा एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएको छ ।

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार ९७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार ७७६ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार २८९ मतदाता छन् । जसमध्ये पुरूष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार २२० जना छन् ।

यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र १७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

यो क्षेत्रमा एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ । त्यसैले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ चर्चामा छ ।

Share This:
सम्बन्धित खबर
Loading...