ओलीलाई प्रचण्डको चुनौती : सामर्थ्य भए अब प्रधानमन्त्री भएर देखाऊ

53

दार्चुला, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरू भएको स्मरण गरे।

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेसलगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उनले बताए । प्रचण्डले नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरू एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने दाबी गरे।

अहिले मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ठुलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’

प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उनले भने, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो । अहिले पनि निकै ठुलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ । त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’

मंसिर ४ गते यी दुई गठबन्धनबीच ठुलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गरे । परिवर्तनका पक्षधर, संविधानको रक्षा, शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरहरुको नेतृत्व गर्ने पार्टीका नेताहरु जनताको घरदैलोमा आएको भन्दै प्रचण्डले जनताले उनीहरुलाई मत दिने विश्वास व्यक्त गरे ।

राजनीतिक स्थिरता र समृद्धिका लागि आफूले ठुलो जोखिम उठाएर वाम एकताको पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले संविधान च्यात्ने मौका छोपेर बसेका ओली नसुध्रिएको बताए ।

‘संविधानसभाको विरोध गर्ने, नेपालमा गणतन्त्र हुनै सक्दैन भनेर टिप्पणी गर्ने केपी ओलीले पनि संविधानमा हस्ताक्षर गरिसकेपछि यिनको बुद्धि फिरेको भन्ने म भ्रममा परेँ, देशमा राजनीतिक स्थिरता होला भनेर पार्टी एकताको प्रस्ताव पनि गरेँ,’ उनले थपे, ‘तर एकता गरिसकेपछि थाहा भयो ओली त मौकाको ताकमा बसेका रहेछन् । जब पावर (शक्ति) हातमा आउँछ अनि यो संविधान च्यात्ने दाउमा बसेका रहेछन् । सबै उत्पीडित, जाति, वर्ग समुदायले पाएको अधिकार खोस्ने उद्देश्यले उनी बसेको थाहा भयो । उनले पाखण्डी चरित्र देखाएका रहेछन्।’

दुई पटकसम्म संसद् विघटन गर्नुले उनी बयलगाढावाला सिद्धान्तबाट पछि नहटेको प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताए ।

अहिले चुनाव प्रचार प्रसारमा ओलीले दुई तिहाइको बहुमतको सरकार बनाउनुपर्‍यो भन्दै जनतासमक्ष हार गुहार गर्नुले उनीमा नैतिकता हराएको स्पष्ट देखिने बताए । ‘अब एमालेलाई बहुमत किन दिने ? भएको दुई तिहाइ बहुमतको सरकार विघटन गर्ने, विशाल पार्टीलाई टुक्रा टुक्रा पार्ने केपी ओली, कुन नैतिकताले जनताको अगाडि बहुमत मागेको ?’ प्रचण्डले प्रश्न गरे, ‘किन फेरि पनि संविधान च्यात्नका लागि चाहियो बहुमत ? सदन पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न चाहियो बहुमत कि अब बचे खुचेको कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्न बहुमत चाहियो ? होइनभने दुई तिहाइ त दिएको थियो नेपाली जनताले।’

धुर्त्याइँ गर्न एमाले जति अरु कसैले गर्न नसक्ने भन्दै प्रचण्डले भने, ‘चुनावका बेला जनताको दैलोमा पुगेर गोहीका आँसु बगाउन पनि पछि पर्दैनन् उनीहरु । ती वास्तविक दुःखका आँसु हुँदैनन्, त्यस्ता चिप्लेहरुको पछि नलाग्नुहोला ।’

चुच्चे नक्सा बनाएको भन्दै ओलीले झ्याली पिटेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘नक्सा पास ओलीले गरेका होइनन्, तत्कालीन नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको मागअनुसार भएको हो।’ त्यसलाई नक्सामा मात्रै हुँदैन, जमिन पनि हाम्रो हो भनी भारतसँग कूटनीतिक पहल गर्नका लागि हामीले पटक–पटक उनीसँग छलफल गर्दासमेत उनले हिम्मत जुटाउन नसकेका हुन् ।

आफू नेकपाको एउटा अध्यक्ष रहेको भन्दै प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले बाध्य पारेपछि नेकपाको निर्णय मान्न ओली तयार भएको बताए ।

आफ्नै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री बनेको भन्दै अध्यक्ष प्रचण्डले सामर्थ्य भए अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चुनौती दिए ।

चुनाव प्रचार प्रसार अभियानमा हिँडेका अध्यक्ष प्रचण्डले गठबन्धनको पक्षमा छाप लगाउन नेपाली जनतालाई अपिल गरेका छन् । जनताले काम गर्न अधिकार प्रदान गरेमात्रै मुलुकको विकास, निर्माण तथा जनताको जीवन उकास्ने काम गर्न सकिने भन्दै उनले निर्णय जनताको हातमा भएको स्पष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...