मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता ५ हजार बनाउँछ : ईश्वर पोखरेल

33

काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरुले वृद्धभत्ता सुरुवात गरेको स्मरण गरेका छन्।

काठमाडौँको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले भएको उनले बताए ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भने, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ । तर, कांग्रेसलगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ ।’

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्‍याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए । पोखरेल २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...