काठमाडौँ–५ मा ईश्वर पोखरेल र प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा

निर्वाचन–२०७९

23

काठमाडौँ, २० कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौँ क्षेत्र नम्बर ५ मा पनि उम्मेदवार मतदाताका घरदैलोमा आआफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्याका लागि काठमाडौँ–५ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्र काठमाडौँ महानगरपालिकाका ४, बूढानिलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वटा वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौँ महानगरका २, ३, ४, ५, बूढानिलकण्ठ नगरपालिकाका ३,४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ वडा रहेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कुल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार ५ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)ले १ हजार ८३९ र नेकपा (माओवादी)ले ७२० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार ३८८ मतान्तरले अगाडि देखिन्छ ।

२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार पोखरेल र कांग्रेसका डा.प्रकाशशरण महतबीच भएका प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए । सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदानमा रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...