काठमाडौँ, १८ असार । आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरुको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि विभिन्न १३ बुँदे मापदण्ड तय गरेको छ ।
जसअनुसार ६८ वर्षमाथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तहसम्मको शिक्षा हुनुपर्ने, चुनाव उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायत उल्लेख छ । यस्तै, उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिने खालको हुन नहुने कुरा उल्लेख गर्दै निजी, व्यवसायी, व्यापारी एवम् ठेकेदारहरु नै सांसद्, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्ने कुरा उल्लेख छ ।
यसैगरी, विदेशमा ग्रिनकार्ड वा पिआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न नसकिने कुरा पनि मापदण्डमा उल्लेख छ ।
१३ बुँदे मापदण्ड
१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैनिकवान् चरित्रका आधारमा तय हुने छ ।
२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्ध भत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम् ६८ वर्ष नकाटेको हुने छ ।
३. सांसद् वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसद्का उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उतीर्ण हुनु पर्ने छ ।
४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने छ ।
५. सांसद्को उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मदेवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनु पर्दछ ।
६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्य योजना र भिजन सार्वजनिक गर्नु पर्छ ।
७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनु पर्दछ ।
८. उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनु हुँदैन । जस्तै– निजी व्यवसायी, व्यापारी एवम् ठेकेदारहरु नै सांसद्, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।
९. विदेशमा ग्रिनकार्ड वा पिआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिने छैन ।
१०. तीन पटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन ।
११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिकता स्रोत सार्वजनिक रुपमा खुलाउनुपर्ने छ ।
१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।
१३. सांसद् वा मन्त्री बनेर घुस खान्न, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्ने छ, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिबद्धता जनाउनुपर्ने छ । संवैधानिक आयोग एवम् राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागबन्डाको संसद्मा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्ने छ ।