काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेत झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच सवाल जबाफ भएको छ ।
नयाँबानेश्वरमा बिहीबार ६३औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जबाफ भएको हो ।
कार्यक्रममा नेता खनालले एमालेको संसद् अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर ९ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।
यो पनि हेर्नुस्
प्रधानमन्त्रीलाई नेम्वाङले भने– एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसद्मा ल्याइदिनुस्
दुई–दुई पटक संसद् भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनःस्थापित संसद्मा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखा पर्न थालेको खनालको भनाइ छ ।
संसद् भंग गर्ने प्रयास र संसद्मा लामो अवरोध भएको भन्दै खनालले एमालेको आलोचना गरेपछि नेम्वाङले जबाफ फर्काएका छन् ।
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने,‘संसद् अवरोध अहिलेको कुरा गर्नुभयो । विगतमा पनि अवरोध भएको थियो । को–को थियौँ विगतमा अवरोध गर्नेहरु सम्झिऔँ ।’
के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद् अवरोध हुन्छ भनेर पूर्वसांसद् मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’