काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धनलाई आगामी संघ र प्रदेश निर्वाचनसम्म कायम राख्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको पोलिटब्युरो बैठकमा नेपालले प्रस्तुत गरेको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा नेपालले संविधानको पूणै कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् ।
“वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरुको वर्गाधार र वर्ग चरित्र फरक–फरक भएता पनि संविधानको पूर्ण कार्यान्वय, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन्,” नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ,“यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ ।”
अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।