न्यायाधीश–अधिवक्त घुस डिल प्रकरणबारे संसद्मा टिपपणीः न्यायालयमा जात्रा चल्यो

131

काठमाडौँ, ९ असार । बचतकर्ताको करोडौँ रकम ठगी गरेको आरोप लागेका व्यापारी इच्छाराज तामाङलाई धरौटीमा रिहा गराउन न्यायाधीशलाई वकिलले ‘घुस’ प्रस्ताव गरेको अडियोबारे प्रतिनिधिसभाको बैठकमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने सांसद्हरुले न्यायाधीश–वकिल अडियो प्रकरणको विषयमा आवाज उठाएका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच ‘घुस लेनदेन’का सन्दर्भमा भएको गोप्य संवादको अडियो मंगलबार साँझ बाहिरिएको थियो ।

प्रतिनिधिसभा बैठको विशेष समयमा बोल्दै सांसद् लिलादेवी सिटौलाले नेपालको न्यायालय कस्तो छ भनेर जनताले प्रष्टै हुनेगरी र आफ्नै आँखाले देख्नेगरी अडियो बाहिर आएको बताइन् ।

राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरु सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद् सिटौलाले भनिन्,“सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने घर बनाउने, जनता हेरिरहने ?’

उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका आमूक संगठनमा बस्नेहरु घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराइन् । “यसका बारेमा सिंगो संसद् एकजुट हुनुपर्छ कि पदैन ?,” उनले सदनमा प्रश्न गरिन् ।

उनले यस्ता गम्भीर विषयमा सबै सांसद्हरु, सरकार र प्रतिपक्षको रुपमा विभाजित नभइ सिंगो आवाज बन्नुपर्नेमा जोड दिइन् ।

विशेष समयमा बोल्दै अर्का सांसद् गजेन्द्र महतले अडियो बजारमा आएको भन्दै न्यायालयमा जात्रा चलेको बताए । “हुन त न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइने छैन भनिन्छ । यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ । न्यायालयमा जुन जात्रा चलिरहेको छ, भ्रष्टाचारको अखडा न्यायालय बनेको छ । अब हामी (ब्यवस्थापिका) बन्धक भएर बस्न हुँदैन,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...