काठमाडौँ, ७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विदेश मामिलाको सन्दर्भमा कसैसँग छलफल नगरेको बताएका छन् ।
विभिन्न देशका लागि नेपालका पूर्वराजदूतसँग परराष्ट्र मामिलाबारे मंगलबार भएको छलफलमा ओलीले विदेश नीतिको मामिलामा आन्तरिक राजनीतिमा राष्ट्रिय सहमति चाहिने भएपनि देउवा सरकार एक्लै अघि बढेको बताए ।
‘परराष्ट्र मामिलाको विषयमा आन्तरिक राजनीतिमा राष्ट्रिय सहमति चाहिन्छ । अहिले सहमति किन भइरहेको छैन ?,’ उनले भने, ‘बाहिर (विदेश भ्रमणमा’ जाँदा प्रतिपक्षीसँग, विज्ञसँग छलफल गर्ने परम्परा थियो । तर, यो सरकार बनेपछि संवाद छैन ।’
२०४६ पछि यस्तो किसिमको संवादहीनता र कुनै पनि विषयमा प्रतिपक्षीसँग परामर्श नगर्ने, सूचना लुकाउने नभएको पनि ओलीले टिप्पणी गरे ।
अध्यक्ष ओलीले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताएका छन् ।
‘हामी हाम्रा छिमेकीहरुसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नु पर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन,’ उनले भने ।
अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नेपालले कुनै हीनताबोध राख्न नहुने भन्दै आपसमा कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्ने बताए ।