काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिक प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए ।
‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखे बजेट बनाइन्छ । दुनियाँमा यस्तो कहीँ कल्पना गरिँदैन,’ उनले भने,‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर, यहाँ त अनधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’
बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई व्यक्तिलाई अर्थ मन्त्रालयलमा ल्याइ करको दार हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप लगाए । ‘यहाँ त बजेट बनाउँदै व्यापारिकका प्रतिनिधि राखेर बनाइन्छ । कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ उनले भने ।
अध्यक्ष ओलीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पाँच वर्षमा देखिने काम गर्न निर्देशन दिएका छन् ।
पार्टी नै पार्टी नै कब्जा गर्ने र सिध्याने चलखेल भइरहेको अवस्थामा पनि चुनौती सामना गर्दै धेरै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गराउन सफल भएकाले यो अवस्था नभुली काम गर्न उनले आग्रह गरे ।
‘यो नेकपा (एमाले)ले लडेको जीवन मरणको लडाइँ हो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो । हामी अहिले पनि प्रमुख पार्टी हौँ । त्यसैले तपाईंहरुले यो अवस्थालाई नभुली पार्टी र जनताको हितमा काम गर्नुहोला,’ उनले भने ।
अध्यक्ष ओलीले जनप्रतिनिधिलाई विकासका अभियन्ता बन्न आग्रह गरे । उनले जनताको सेवामा सदा तत्पर रहनुपर्ने बताए ।