काठमाडौँ, ३० जेठ । स्थानीय तहको निर्वाचन परिणम सार्वजनिक भएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नजिकिन प्रयास थालेका छन् ।
जेठको दोस्रो साता एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र माओवादी केन्द्रका वरिष्ण नेता नारायणकाजी श्रेष्ठ भेट गरेदेखि सुरु भएको संवाद आइतबार भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै तहमा पुगेको छ ।
आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अनुमति लिएर ओली भेट्न बालकोट पुगेका हुन् ।
झन्डै साढे २ घन्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।
दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलनबारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठनिकट एक नेताले भने,‘एमसीसी, संसद् विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
कांग्रेससहितको गठबन्धन भत्काउन प्रयास गरिरहेको एमालेले पछिल्लो दिन आफ्ना नेताहरुलाई माओवादीको दोस्रो तहका नेताहरुसँग छलफल गर्न पठाएको छ ।
शनिबार एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग दुई घण्टा छलफल गरेका थिए ।