सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा

315

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गरे । उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताए ।

मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धरणा राखे । “सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाइ स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ,” उनले भने ।

नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको भनाइ थियो ।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.उमाशंकर प्रसादले स्वास्थ्य उपचार गर्न विदेश जाँदा धेरै पैसा बाहिरिने गरेको भन्दै नेपालमा उपचार हुने रोग यही नै गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँच वर्षीय (२०७८–८२) योजना ल्याइएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...