इटहरी बम बिस्फोट प्रकरण : मुख्य योजनाकारसहित ४ जना पक्राउ

277

विराटनगर । केही दिनअघि सुनसरीको इटहरीको एक घरमा बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा मुख्य योजनाकारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार राति इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलका अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा बम बिस्फोट भएको थियो । बिस्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए ।

पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके तथा घटनाका मुख्य योजनाकार झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुरका ४३ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल, इटहरी उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापा, उनकै छोरा २० वर्षीय रविन थापा र शेरजङ्ग गुरुङ रहेका छन् ।

खरेल हिमाल सुरक्षा परिषद्का अध्यक्ष हुन् । उनीमाथि झापाको विर्तामोड र दमकमा बम राखेको आरोप छ ।

खरेल २०७६ वैशाख २८ गते ‘गोर्खा जनमुक्ति पार्टी’को नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । बिस्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट छुटेलगत्तै हिमाल सुरक्षा परिषद्मा आबद्ध भएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि सुनसरी जिल्ला अदालतबाट बम बिस्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र बम बिस्फोटन गराइ समाजमा आतंक फैलाउने तत्वहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीमा बम बिस्फोट हुँदा दुई जना घाइते

Share This:
सम्बन्धित खबर
Loading...