एमालेको विरोधपछि बागमती प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

279

काठमाडौँ । विगत सरकारका योजनाहरु कटौती गरेको र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा (एमाले)ले बिहीबार पनि बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका थिए । बैठकमा एमाले प्रदेशसभा सदस्य केशवराज पाण्डेले बिना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको विषयमा सरकारको जबाफ नआएसम्म बैठक चल्न नसक्ने बताए ।

उनले मुख्यमन्त्री प्रदेशसभाको बैठकबाट भागेको आरोप लगाए । बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसूची थियो ।

साथै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेस गर्ने कार्यसूची रहेको सभामुखले जानकारी गराएका थिए । तर, एमाले प्रदेशसभा सदस्य पाण्डेले आफूहरुले राखेका विषयमा सरकारको धारणा नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।

एमाले प्रदेश सदस्यलाई पटक पटक बस्न आग्रह गरेपनि अवरोध भएपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित गरे ।

Share This:
सम्बन्धित खबर
Loading...