विकासका लागि सबैको बुझाइ परिवर्तन हुनुपर्छ : अर्थमन्त्री शर्मा

252

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आयोजना गरेको स्टेकहोल्डरहरूको भेटघाट तथा निफ्राको आगामी रणनीतिक यात्राबारे छलफल कार्यक्रममा बोल्दै उनले विकासका लागि सबैको बुझाइ परिवर्तन हुनुपर्नेमा जोड दिए ।

उनले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको भन्दै पहिले सरकारले आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने बताए । त्योसँगै सरोकारवाला सबैले विकासका बारे सकारात्मक धारणा निर्माण गर्नुपर्ने बताए । “नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन भन्ने मेरो धारणा छ । समस्या बुझाइको हो,” उनले भने, “हामीले विकास सम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ । स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्यो, समाजको हुनुपर्यो, लगानीकर्ताको हुनुपर्यो, निजी क्षेत्रको हुनुपर्यो । यहाँ त्यो स्पष्ट धारणाको अभाव छ ।” स्पष्ट धारणासँगै काम गर्ने इच्छाशक्ति र दूरदृष्टि हुनुपर्ने बताए ।

मन्त्री शर्माले सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै रहेको धारणा राखे । हरेक व्यक्तिसँग रहेको पैसालाई एकीकृत गर्न सक्दा ठुलो पुँजीको निर्माण हुने उनको भनाइ रहेको छ । ग्रामीण क्षेत्रमा पनि पुँजी छरिएर रहेको उनले बताए । “अहिले भर्खरै स्थानीय तहमा पनि बैंक पुगेर अलिअलि त्यहाँ पैसा राख्ने चलन बढेको छ,” उनले भने, “तर, अझै पनि घरको दलिनमाथि पैसा राख्ने चलन छँदै छ ।” त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यमान नीति नै ढिलासुस्ती किसिमको रहेकाले नीति निर्मातामा पहिले विचार परिवर्तनको आवश्यकता रहेको मन्त्री शर्माले औँल्याए । विकासको सोच नहुँदा समस्या भएको उनले बताए । विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने उनको भनाइ छ । “नीतिहरू नै विकासलाई ढिलो गर्ने खाल्का बनेका छन्,” उनले भने, “हाम्रा यस्ता पनि नीति छन् जुन सरकारको एउटा योजनाका लागि वन मन्त्रालयलगायत अन्यसँग स्वीकृति लिनुपर्छ । रुख काट्न विद्युत प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने अवस्था पनि छन् ।”

त्यस्तै उनले पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परपुर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने बताए । यस्तो संस्थालाई सक्षम बनाउँदा पुँजी निर्माणमा भइरहेको रिक्तता पुरिने भन्दै निफ्रालाई अझ बलियो बनाउनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...