नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौँ : मन्त्री श्रेष्ठ

238

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढी राखेको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र)को मध्यपुर थिमि नगरसम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादीनै लागि पर्ने बताइन् ।

उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पउनासाथ प्रतिगमनकारी तत्व फेरि उठ्न सक्ने भन्दै प्रतिगमनको अन्त्यका लागि जनतालाई सचेत बनाउनु पर्ने भन्दै माओवादीको एजेन्डा र पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मरणाशन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथबाट संविधान र परिवर्तनलाइं जोगाउन सकिएको भएपनि चुनौति अझै रहेकाले सवै सचेत बन्नुपर्नेमा समेत जोड दिइन् ।

संविधानको रक्षाका लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले गठबन्धन निर्वाचनसम्म नै जाने पनि मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न माओवादीले मात्रै सक्ने पनि बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुमबासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न आफूले मन्त्रालय संहालेपछि काम सुरु गरिसकेको र फेरि पनि भूमिसम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम सुरु भइसकेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

उनले भक्तपुरकामा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् नै गर्ने गरी प्रक्रिया सुरु गरेको बताउँदै नागरिकले आफ्नै जमिनको मालिक बन्न नपाउने र लालपुर्जाको अभावमा नागरिक बन्ने अधिकार समेत नपाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध भएर लागि परेको समेत बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...