सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्री श्रेष्ठको चासो

242

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी) को प्रभावकारीताबारे परियोजनाका अधिकारीहरुसँग जानकारी लिएका छन् ।

मन्त्री श्रेष्ठले परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाएको र कामदार तथा उनिहरुका परिवारको आर्थिक सामाजिक सुदृढीकरण र उद्यमशीलतामा पहुँच बढेको भन्दै प्रसंशा गरे ।

श्रेष्ठले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भुमिका खेल्नुपर्ने बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको भन्दै उनले परियोजनाले वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिमा परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सहयोग गरेको बताए ।

परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको परियोजनाका टिम लिडर सीता घिमिरेले बताइन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत व्यक्ति र उनीहरुको परिवारलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...