युवा लक्षित कार्यक्रमलाई एकै ठाउँ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज

86

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमलाई एकै ठाउँ केन्द्रित गर्नुपर्ने बतएका छन् । युवाहरुको नाममा बर्सेनि राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ इङ्गित गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताएका हुन् ।

मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाउँमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत् रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताए ।

कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेको बताउँदै मन्त्री गहतराजले सबै कार्यक्रमलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडि बढ्नुपर्ने धारणा राखे ।

मन्त्रालयमार्फत् युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री गहतराजको बुझाइ छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्देश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै मन्त्री अथकले चिन्ता समेत व्यक्त गरे ।

मन्त्रालयका औपचारिक तथा आन्तरिक बैठकहरुमा समेत मन्त्री गहतराजले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिँदै आएका छन् । विदेशी भूमिमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनका लागि आवश्यक रणनीति तय गर्न बृहत् युवा सम्मेलनको आवश्यकता महसुस गरेको बताउँदै मन्त्री गहतराजले प्राकृतिक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धिको नयाँ ढोका खोल्न सकिने विश्वास समेत व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...