श्रममन्त्री श्रेष्ठसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

254

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद बिन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको हो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्दै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदूत अल मार्वानीसँग आग्रह गरे ।

मन्त्री श्रेष्ठले नेपालमा पनि सीप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदूतमार्फत् साउदी अरेबिया सरकारसमक्ष आग्रह गरेका हुन् । नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेबिया सरकारले नेपाललाई प्रदान गरेको अवसरका लागि धन्यवाद दिए ।

साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताए ।

राजदूत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्बोधन गर्ने उनले बताए ।

नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...