काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन आग्रह गरेका छन् ।
सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गरेका हुन् ।
उनले प्रधानन्यायाधीश जबराले गरेका फैसलाहरुले विकृति, विसंगति, विचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि त्यसबारेमा अध्ययन र प्रमााण संकलन गरिरहेको बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसला राखेर जनताबीच पेस गरिने बताए ।
उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानुनव्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए ।
“हाम्रो यो हप्ताको कार्यक्रममा पनि दलहरु अझै पनि कानमा तेल र मुखमा बझो लगाएर बसिरहनु भएको छ । के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ?” उनले प्रश्न गरे ।
उनले विवादित प्रधानन्यायाधीश संलग्न भएका फैसलाले विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको बताउँदै त्यस्ता विवरण बारले संकलन, अध्ययन गरिरहेको बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले ३ वर्ष न्यायपालिका र सेवाग्रहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए ।