गौतमबुद्ध विमानस्थलको काम नरोक्न सरकारलाई विष्णु पौडेलको चेतावनी
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य वर्तमान सरकारले नगरेको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका हुन् ।
उद्योग व्यापार संगठन रुपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिबार भैरहवामा बोल्दै पौडेलले अघिल्लो सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडिबी) सँग चाँडो सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।
“हामीले दोस्रो फेजका काम अगाडि बढाएरका थियौँ । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ बनाउने, ट्याक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडिबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा दोस्रो चरणको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो,” पौडेलले भने,“एडिबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ । तर, वर्तमान सरकार कानमा तेल हालेर बसेको छ, काम अगाडि बढाएन । योभन्दा दुःखको कुरा अरु के हुन सक्छ र ?”
उनले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रुपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिए । विमानस्थललाई देशकै मुहार फेर्ने आयोजनाका रुपमा लिइएको छ । पौडेलले अहिलेको सरकारसँग केही अपेक्षा गर्न नसकिनेसमेत बताए ।