अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र : ६ जना पक्राउ

381

काठमाडौँ । इडिभी परेका व्यक्तिले अमेरिका जना नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार इडिभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।

अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आइतबार एक सूचना जारी गर्दै जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वरमा बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका साहिली शाही रहेका छन् ।

उनीहरुलाई अमेरिकी राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट निम्न नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवम् थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...