ओलीले गल्ती स्वीकारेर आए एकता हुन्छ : माधव नेपाल

174

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासंघले गरेको जुम अन्तरक्रियामा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

ओलीले आफूहरुलाई लगाएको आरोप फिर्ता लिने र आत्मालोचना गर्ने कुनै ‘स्प्रिट’ नदेखाएको उल्लेख गर्दै उनले ओलीले पार्टी विभाजन गर्न चाहे पनि आफूहरुलाई दोष दिइएको बताए । उनले पार्टी पुनःगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झन्डा बोक्ने पनि बताए ।

उनले ओली अहंकारको घोडामा सवार भएकाले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । “पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरामा ओलीको ध्यान गएन । उहाँको ध्यान साने गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ । उहाँहरुको प्रत्येक अभिव्यक्ति वाणी सुन्नुभएको छ भने उहाँमा आत्मालोचनाको बानी छैन । अरुमाथि लान्छना लगाउने, सबै दोष अरुको हो भनेर औँला ठड्उने सबैलाई होच्याउने आफूलाई सर्वाधिकार ठान्ने बानी रहेको छ । उहाँको अहंकारबाट यो पवित्र पार्टी गुज्रिरहेको छ,” उनले भने ।

उनले पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहंकारको भावना आएको बताए । उनले भने,“उहाँमा नराम्रो ढंगले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरंकुश रुपमा विकास भयो । उहाँको आलोचना गर्नेहरु उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरु टाढिँदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्ने छ । राम्रो काम गर्ने हो, केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मलोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो । उहाँले एक समय देश भक्तिको झन्डा उठाउनुभएको थियो । विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरु फेरि राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले संघीयताको विरोध गरिरहेका छन् ।”

उनले आफूलगायतका सांसद्हरुलाई कारबाही गरेको तर्क इंगित गर्दै आफूहरु कारबाहीबाट विचलित नभइ अगाडि बढ्ने पनि बताए । वरिष्ठ नेता नेपालले आफूहरुले नयाँ पार्टी खोलेपनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताए । आउँदो चुनावमा सहकार्य हुनसक्ने समेत उनको भनाइ छ ।

नेता नेपालले भने,“कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडि बढ्नेछौँ । एकताका निम्ति हाम्रो ढोका सधैँभरि खुला छ । आज फेरि एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भने पनि, पार्टी पुनःगठनको नयाँ झन्डा बुलन्द गरिहाल्यौँ भने पनि फेरि केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने फेरि एकताको ढोका खुला हुने छ । अहिले हुने छ । भोलि हुने छ ।”

Share This:
सम्बन्धित खबर
Loading...