युवकलाई दाम्लोले बाँधेर कुट्ने जुनिचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा रिहा

305

काठमाडौं । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई ५ हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडितको बयानका आधारमा ५ हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । भिडियोको आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो । तर, पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको उनले बताए ।

साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...