काठमाडौं । राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेलले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् पौडेलले संक्रमणकालीन न्यायलाई छिट्टै टुंगो लगाउनुपर्ने बताएकी हुन् ।
बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा समेत द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचानसम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता पूरा गर्न नसकेको बताइन् । उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पूरा नहुने भएकाले आगामी चुनावसम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन् ।
“जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिइको मानिँदैन । र हामीले विश्वसामु गौरव गर्ने ठाउँ पनि छैन । त्यसले गर्दा यदि कानुनमा कमी छ भने कानुन संशोधन गर्न लिएर आउनुस् । हामी कानुन संशोधन गरौँ । कानुन संशोधन गरेर यो कुरालाई टुंग्याउँ,” उनले भनिन्,“अर्को चुनावमा जानुभन्दा अगाडि संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।”
उनले बृहत् शान्ति सम्भौतापछि द्वन्द्वरत पक्ष नै पटक–पटक सरकार सञ्चालनमा पुगेको भए पनि यस विषयलाई टुंगोमा पुर्याउन नसकेको बताइन् । राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाइ थियो ।