जाजरकोट । दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।
साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
स्थानीयलाई कुटेको भिडियोका आधारमा र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक पाण्डेले बताए ।
पीडितलाई पनि सदरमुकाम बोलाइएएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।
“हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौँ, पीडितले जाहेरी नदिएपनि कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने ।
सर्पे दमाईले वडाध्यक्षले अनियमितता गरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएपछि वडाध्यक्षले कुटपिट गरेको स्थानीय बासिन्दाको भनाइ छ ।