काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । धितोपत्र बोर्डका अध्यक्षका आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर रहेको पाइएपछि अर्थ मन्त्रालयले यस्तो स्पष्टीकरण सोधेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता सेयर नामसारी भएको समाचार केहीदिन अघि सार्वजनिक भएको थियो ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा तीन दिनभित्र बुझाउन भनेको छ ।
“विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध छ,” पत्रमा भनिएको छ ।