काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले)मा प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई सांसद् अदालत पुगेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुवै जनालाई माओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।
माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले दधिराम न्यौपाने रुपन्देहीको क्षेत्र नम्बर १(ख) र दिनेश पन्थी गुल्मीको क्षेत्र नम्बर १(ख)बाट प्रदेशसभामा निर्वाचित उनीहरुलाई दुवै जनाको सांसद् पद रिक्त भएको जानकारी दिएका थिए ।
निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ निवेदन दिएका छन् ।