‘पार्टी एकता अपरिहार्य छ’

197

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्य रहेको बताएका छन् ।

गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्दै उनले पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिने हुनाले सबै नेता त्यसमा संवेदनशील हुनुपर्ने बताए । पार्टी एकता अपरिहार्य रहेको र नेताहरूबीच नियमित छलफल, वार्ता भइरहेकाले छिट्टै केही न केही निष्कर्षमा पुगिने पोखरेलले बताए ।

एकता कायम गर्न सबै लाग्नुको विकल्प नरहेको उनले बताए । पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र पुग्दैन, ठोस कदम चाल्नुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले ‘विचारमा स्पष्टता र व्यवहारमा लचकता’ अनिवार्य रहेको बताए ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उनले टिप्पणी गरे । व्यक्तिगत कुण्ठा र ईर्ष्यकै कारण पार्टीभित्र टकराव बढेको धारणा उनले व्यक्त गरे ।

पार्टीभित्रको विवाद र विकृतिलाई समाधान नगर्ने हो भने दूरगामी असर पुग्ने चर्चा गर्दै महासचिव पोखरेलले भने, “एमालेभित्र अहिले दुर्भाग्यपूर्ण बिग्रहको अवस्था छ, यसले पार्टीलाई धेरै क्षति नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ । पार्टी एक रह्यो भने मात्र बाँकी उपलब्धि प्राप्त हुन्छ ।”

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै काम र कर्तव्य भए पनि एउटाको काममा अर्को निकायबाट हस्तक्षेप हुन थालेपछि देश सङ्कटतर्फ उन्मुख भएको उनले टिप्पणी गरे । “सर्वोच्चले संविधानको किटानी व्यवस्था र राजनीतिक दलसम्बन्धी ऐन प्रबन्ध हेर्नुपर्ने हो, राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तियो,” महासचिव पोखरेलले भने । उनले बाढीपहिरो, प्राकृतिक विपत्तिका बेला मुलुकले गृहमन्त्री नपाउनु, कोभिड महामारीका बेला स्वास्थ्यमन्त्री राख्न नपाइनु दुर्भाग्यपूर्ण रहेको विचार व्यक्त गरे । न्यायपालिकाको काम आमनागरिकले पनि बुझिरहेको चर्चा गर्दै महासचिव पोखरेलले न्यायपालिकाले लोकतन्त्रसम्मत काम गरिरहेको छ कि छैन, नागरिकले मूल्याङ्कन गरिरहेको बताए ।

“न्यायालयमाथि राजनीतिक दलले हस्तक्षेप गर्नुहुँदैन, राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन,” भन्दै उनले यस्तो गतिविधिले मुलुक गलत बाटोमा जाने बताए । पार्टीको आन्तरिक समस्या बाहिर छताछुल्ल गरेर समाधान नहुने भन्दै महासचिव पोखरेलले आन्तरिक विवाद आन्तरिक छलफल र संवादबाटै समाधान हुने बताए । गोरखापत्र दैनिकमा छापिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...