काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी सरकारको सिफारिसमा कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसबारे प्रतिक्रिया दिँदै थापाले महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती यहीँ र यत्तिमै नरोकिने बताए ।
“सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन्,” थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज काममा सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न नेताहरुलाई आग्रह गरेका छन् । “नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,” थापाले भने ।